काठमाडौं, जेठ १० । मानसिक स्वास्थ्यसम्बन्धी विज्ञहरूले लामो समयदेखि भन्दै आएका छन्, दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोनको प्रयोग हानिकारक हुन्छ ।

अपवाद मात्र होलान्, जो दिनमा दुई घण्टामात्र मोबाइलमा भुल्छन्। हामीमध्ये अधिकांश बिहान आँखा खुल्नासाथ मोबाइल हेर्छौं, बेलुका आँखा बन्द हुने बेला पनि अगाडि मोबाइल नै हुन्छ।

दैनिक कामकाजमा व्यस्त हुँदा त मोबाइल यति ‘प्यारो’ थियो भने लकडाउनमा के होला ? केहीलाई छोडेर धेरै कामविहीन बनेका छन्, घरभित्रै बस्नुपरेको छ। चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु भयो, अहिलेलाई वैशाख ३ गतेसम्म तोकिएको छ। त्यसपछि पनि के हुन्छ टुंगो छैन। सेल्फ–क्वारेन्टाइनमा बसिरहँदा समय बिताउने मुख्य सहारा नै मोबाइल बनेको छ। तर, हामी एउटा रोगबाट बच्न खोजिरहँदा मोबाइलमार्फत अर्को दीर्घकालीन रोगलाई निम्त्याइरहेका त छैनौँ ? विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय भन्छन्, ‘अहिले मोबाइल चलाउनु बाध्यता छ, आवश्यकता पनि तर धेरै चलाउँदा घातक हुन सक्छ।’ अनलाइनमा समाचार पढ्न, फेसबुक चलाउन, कसैलाई कल भिडियो कल गर्न, युट्युबमा भिडियो हेर्न, गेम खेल्न, फोटो भिडियो खिच्न, टिकटक बनाउन, सबै कामका लागि मोबाइल अनिवार्य बनेको छ। साँच्चै हाम्रा हरेक गतिविधि मोबाइलसँग जोडिएका छन्। धेरैले फेसबुकमा लेख्छन् नै, ‘मोबाइल र इन्टरनेट नहुँदो हो त दिन कसरी कट्थ्यो होला ?

पक्कै पनि मोबँइलका सुखद पक्ष धेरै छन् तर त्यसको सन्तुलन मिलाउन सकिएन भने मनोचिकित्सक उपाध्यायले भनेजस्तै घातक हुने सम्भावना उत्तिकै छ। दुर्भाग्य लकडाउनमा हाम्रा व्यवहारहरू त्यतैतिर मोडिरहेका छन्। विज्ञहरूका अनुसार मान्छेहरू अहिले घरमा त बसिरहेका छन् तर बेचैनी र छटपटी उत्तिकै छ। संक्रमणबाट बच्न घर बस्नु अत्यावश्यक छ भनेर मान्छेले सकारात्मक रूपमा लिनै सकेका छैनन्। त्यसैले तनावबाट उम्कन मोबाइल र इन्टरनेटको सहारा लिन्छन्। जबकि मोबाइलले तनाव घटाउँदैन, बरु बढाउन भूमिका खेल्छ। मनोचिकित्सक उपाध्याय अधिक मोबाइल प्रयोगका बेफाइदालाई अनेक कोणबाट प्रस्ट पार्छन्, जसलाई हामीले जानीनजानी नजरअन्दाज गरिरहेका छौं।

पहिलो कुरा त, बाहिरबाट आउँदा मोबाइलमा भाइरस रहन सक्छ। त्यसलाई सुरक्षित बनाइएन भने आफूमा भाइरस सर्ने खतरा हुन्छ। त्यसपछि आउँछ, मोबाइलमा हेरिने कन्टेन्टको नकारात्मक प्रभाव। उपाध्याय भन्छन्, ‘युट्युबमा अतिरञ्जित भिडियो हेर्दा दिमाग शिथिल हुन्छ, त्रास थपिन्छ। यसबाट रोगसँग जुध्‍ने शक्ति ह्रास हुन्छ। जबकि अहिले हामीमा जतिसक्दो प्रतिरक्षा प्रणाली बलियो बनाउनु जरुरी छ।’ आधिकारिक स्रोतबाट मात्र सूचना–जानकारी लिएर परिवारमा सेयर गर्नुपर्छ। ‘समाचार पनि दिनमा दुई–तीन पटकमात्र अपडेट भए पुग्छ, छिन–छिनमा पछ्याउँदा निराशा बढ्छ,’ उनले भने।

बरु युट्युबमा संगीत सुन्न, कमेडी भिडियो हेर्न, योग वा शारीरिक अभ्यास सिक्न, प्रवचन सुन्न सकिन्छ। यसबाट सकारात्मक ऊर्जा प्रवाह हुन्छ। उपाध्यायको सुझाव छ, ‘मोबाइललाई मानसिक आनन्द र पारिवारिक सम्बन्ध विस्तार गर्ने माध्यममा सीमित गर्नुपर्छ।’

शारीरिक असर पनि त्यतिकै छन्। मोबाइलले आँखामा दबाब सिर्जना गर्छ, उज्यालोलाई लामो समय नजिकबाट हेर्दा दीर्घकालमा आँखाको ज्योति गुम्न वा घट्न सक्छ। घाँटीको हड्डी खिइन्छ। टाउको दुख्छ। हात झन्झनाउँछ। दिमागी सोचाइ बिथोल्छ र नकारात्मक व्यवहारमा प्रेरित गर्छ, भोक हराउँछ। उपाध्याय भन्छन्, ‘अहिले शरीरलाई जतिसक्दो सक्रिय बनाउनुपर्छ तर मोबाइलले थकान गराउँछ। दिक्क लाग्छ।’

हामी राति निद्रा लागेन भनेर मोबाइल चलाउँछौं तर मोबाइलले निद्रा झन् खल्बल्याउँछ। भोलिपल्ट दिनभर त्यसको असर देखापर्छ। कति अध्ययनले मोबाइलबाट निस्कने रेडियो तरंगले श्रवण शक्ति नष्ट गर्ने निष्कर्ष निकालेका छन्। लगातार ४५ मिनेटभन्दा बढी चलाउनु हुन्न। ‘मोबाइलभन्दा टेलिभिजन हेर्नु उपयुक्त हुन्छ, टेलिभिजन समूहले हेर्ने भएकाले सेयरिङ हुन्छ, आत्मीयता बढाउँछ,’ उपाध्यायको सुझाव छ।

वयस्कलाई त तैबिसेक, बालबालिकाका लागि मोबाइल पूरापुर हानिकारक हुन्छ तर अधिकांश अभिभावकको गुनासो हुन्छ, ‘छोराछोरीले मोबाइल मागेर हैरान पार्छन्। मोबाइलमा खेल्न पाए दंग पर्छन्।’ बाल विकास विज्ञ प्रा।डा। निर्मला उप्रेतीचाहिँ यसो हुनुमा अभिभावककै दोष देख्छिन्। ‘आफू मोबाइल चलाउने, बच्चालाई एक्लै छोडिदिने, अनि कहाँ मान्छन् त ?’ उनले भनिन्, ‘बाबुआमाले कुरा गर्ने, खेल्ने हो भने बच्चालाई मोबाइलको वास्तै हुन्न। उनीहरूका लागि बाबुआमाको साथभन्दा ठूलो खुसी अर्को हुन्न।’ स्मार्टफोनको प्रयोगले बच्चाको मानसिक विकासक्रममै बाधा पुग्ने उनको भनाइ छ।

मनोचिकित्सक उपाध्याय पनि बच्चालाई मोबाइल दिनै नहुने बताउँछन्। दिनै परे पनि अभिभावकसँगै हुनुपर्छ। ‘मोबाइलको लत बस्यो भने पढाइमात्र होइन, व्यवहार र सोचाइमा असर पर्छ,’ उनी भन्छन्, ‘बालबालिका र किशोरकिशोरीले यौनजन्य र हिंसात्मक कन्टेन्ट बढी हेर्न सक्छन्। त्यसैले अभिभावकको प्रत्यक्ष निगरानीबिना मोबाइल दिनै हुन्न।’

शनिबार, जेठ १०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४