सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको समन्वय र राष्ट्रिय युवा परिषद्को आयोजनामा कर्णाली प्रदेशस्तरीय सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको पूर्वतयारीका लागि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा स्थानीय उत्पादनलाई नवीन ढंगले बजारमा ल्याइरहेका उद्यमी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी गर्नुका साथै व्यावसायिक अनुभवहरू एक–आपसमा साटासाट गरेका थिए ।
कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय युवा परिषद्का शाखा अधिकृत मानबहादुर कार्की र प्रशासकीय अधिकृत गेहेनाथ गौतमले कर्णाली प्रदेशमा आयोजना हुने आगामी प्रदर्शनीका बारेमा विस्तृत जानकारी गराएका थिए । सोही क्रममा उपसचिव तारापति खरेलले स्थानीय उद्यमीहरूले तयार पारेका वस्तुहरूको प्रशंसा गर्दै आगामी प्रदर्शनीमा प्रदेशभरका व्यवसायीहरूलाई समेट्ने लक्ष्य राखिएको बताए । उनले यस अभियानमा जिल्ला उद्योग वाणिज्य संघको सहयोग अझ सशक्त हुनेमा आफू आशावादी रहेको उल्लेख गरे ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले युवा र महिला उद्यमीहरूको सहजताका लागि संघले ’उद्यमी हेल्प डेस्क’ मार्फत सेवा दिइरहेको जानकारी गराए । उक्त डेस्कबाट भिसिटिएस (VCTS) सेवा, उत्पत्तिको प्रमाणपत्र, व्यवसायिक, वित्तीय तथा प्राविधिक प्रस्तावना लेखन जस्ता कार्यमा निःशुल्क सेवा प्रदान भइरहेको बताए । अध्यक्ष खड्काले संघले महिला र युवा व्यवसायीका लागि विशेष कार्यक्रमको ढाँचा तयार गरी कार्यान्वयनको चरणमा जान लागेको जानकारी दिँदै सबै उद्यमीहरूलाई संस्थामा आबद्ध हुन आह्वान समेत गरे ।
कार्यक्रममा स्थानीय आईटी क्षेत्र, रैथाने बालीका उत्पादक, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरू एवं स्थानीय निकायका वाणिज्य शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
आइतबार, चैत्र ०८, २०८२मा प्रकाशित गरिएको



