काठमाण्डौं । सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो ।

ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए । कति मानिसहरु भित्र आए गए । तर, ती व्यक्तिले मलाई हेरिमात्र रहनुभयो ।


पछि मैले उहाँलाई बोलाएँ, ‘किन त्यहाँ त्यसरी बसिरहनुभएको हो ? आउनुस्, फोटो खिच्ने हो कि कुरा गर्ने हो, गर्नुस् ।’

उहाँको अनुहार रातो भयो । अक्मकिँदै बोल्नुभयो, ‘अलि मिल्दैन कि, मिल्दैन ।’ मैले हाँस्दै भने, ‘छोडिदिनुस् यी सब । खुरुक्क आउनुस् ।’ त्यसपछि उहाँ मसँग आएर बस्नुभयो । कुरा गर्नुभयो । उहाँ दलित समुदायको हुनुहुँदो रहेछ । हाम्रो थोर बहुत घनिष्ठता पनि बढ्यो ।

त्यसपछि हाम्रो सुटिङ सुरु भयो । छायांकन सकिएर प्याकअप हुँदै थियो । उहाँ फेरि त्यहीँ देखिनुभयो । उहाँको हातमा एउटा पोको थियो । नजिकै आएर भन्नुभयो, ‘तपाईंका लागि मैले खानेकुरा पकाएर ल्याएको छु । स्वीकारिदिनुस् न ।’

त्यो कुरा मलाई यसकारण पनि महत्वपूर्ण लाग्छ कि सम्बन्धित व्यक्तिको व्यवहार र आचरणले नजिक आउन डराएको मान्छेले पनि खाना पकाएर ल्याउने बनायो । यसले मलाई शिक्षा पनि सिकायो ।

यहाँ दलित शब्द हटाउने वा नहटाउने भन्नेजस्ता प्रश्न पनि उठे । तर, दलित शब्दमा के छ र त्यस्तो हटाउनुपर्ने ? दलित शब्द आफैंमा नराम्रो होइन । हटाउनुपर्ने त हाम्रो व्यवहार हो र हाम्रो व्यवहार हो ।

हाम्रो संस्कृति, परम्परा, रहन(सहन धर्ममा भएको विभिन्न कुप्रथामध्ये सबैभन्दा चित्त नबुझेको कुरा भनेको जातका आधारमा एउटा मान्छेले अर्को मान्छेलाई गर्ने भेदभाव र अमानवीय व्यवहार हो । र, यसो गर्नुमा कुनै तर्क पनि भेटेको छैन ।

म पनि यही समाजको उपज हुँ । मेरा बुबा मुमाहरुले पनि केही हदसम्म त्यो कुरीतिलाई अपनाउनुभयो होला । तर, मेरा बुबा मुमा असाध्यै प्रगतिशील हुनुहुन्थ्यो । त्यसैले यसबारे हामीलाई कुनै दबाव दिनुहुन्थेन । यसमा मलाई गर्व लाग्छ । यसको एउटा उदाहरण सुनाउँछु ।

म त्यस्तै ४ ५ वर्षको थिएँ । मेरो घरमा सहयोगीका रुपमा त्यस्तै २२ २४ वर्षकी महिला हुनुहुन्थ्यो । मैले उहाँलाई तँ भनेर सम्बोधन गर्थेँ । एकदिन बुवाकै अगाडि मैले तँ भनेर सम्बोधन के गरेको थिएँ, उहाँले कानमा समाएर घिसार्दै ती सहयोगीका अगाडि पुर्‍याउनुभयो र भन्नुभयो( अब आफूभन्दा ठूलोलाई कहित्यै तँ भन्दिनँ भनेर माफी माग्

मैले यस्तैखालको प्रशिक्षण पाएका कारण पनि ममा विभेदविरुद्धको चेतना आएको हुन सक्छ । र, अहिले मैले दलितको मुद्दामाथि जातको प्रश्न भन्ने कार्यक्रम चलाउने शौभाग्य पाएको छु । यसलाई मैले मात्र प्रस्तोताका रुपमा म यो कार्यक्रममा आएको होइन । आत्मसाथ गरेरै म यो मुद्दामा आएको हो ।

जातीयता समस्याको समाधान त्यही समुदायकाले मात्र हल गर्नुपर्छ भन्ने पनि होइन । कुनै पनि समुदायमा परिरहेको समस्यामा त्यो समुदायको एक्लो पहलले उठ्नका लागि त्यति सजिलो हुँदैन । त्यसका लागि अरुको पनि जरुरत पर्छ । किनकि, एउटा व्यक्ति वा समुदायलाई त्यो अवस्थामा पुर्‍याउनका लागि सबैको भूमिका हुन्छ । त्यसैले यसको निकासका लागि पनि भूमिकाको जरुरत पर्छ । जस्तो कि महिलाको समस्या समाधान गर्नका लागि महिलाको मात्र एक्लो पहल सम्भव छैन ।

दलित समुदायको समस्या समाधानका लागि केही कानुन बनेका होलान् । विडम्बना के छ भने कानुनमा लेख्न जति सजिलो हुन्छ । व्यवहारमा उतार्न त्यति नै गाह्रो हुँदो रहेछ । मानिसको त्यो मनोविज्ञानलाई मेटाउनका लागि त्यति सहज रहेन छ । कानुनलाई व्यवहारमा खरोरुपमा उटार्न नसकेका कारण पनि पनि यस्ता अमानवीय घटनाहरु यथावत रहेका हुन् कि !

भर्खरै मात्र भएको रुकुमको घटनालाई नै उदाहरण लिऔँ ।

जातीय अहंकारबाट एउटा समुदायले अर्को समुदायलाई त्यसरी क्रुर व्यवहार र हत्यासम्म गर्ने आँट कसरी आउँछ त ? जो कानुनको रक्षक हुनुहन्छ, उहाँहरुले नै यो मुद्दामा त्यति गम्भीर हुनुहुन्न ? फितलो किसिमले हेर्नुहुन्छ कि भन्ने दृष्टिकोणले पनि उहाँहरुलाई त्यस्तो आँट आएको पनि हुन सक्छ ।

अन्तरजातीय विवाहका आधारमा हत्या भएका अजित मिजारको शव पाँच वर्षदेखि टिचिङ अस्पतालमा लावारिस छ । यसरी पाँच वर्षसम्म रहनुको कारण के हो ? कुनै न कुनै पक्षमा निर्णय त हुनुपर्ने हो । यसले समाजमा के नजिर बसेको छ भने यो मुद्दामा कानुन जति गम्भीर बन्नुपर्ने हो त्यति बनेको छैन । यसलाई सबै व्यक्तिहरुले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । कानुनमा भएको कुरालाई सतप्रतिशत कार्यान्वय गर्न तुरुन्तै लाग्नुपर्छ ।

मेरो व्यक्तिगत कुरा गर्दा कुनै त्यस्तो समुदाय छैन होला, जसको प्रतिनिधित्व गरेर मैले अभिनय गरेको छु । हिमालको शेर्पादेखि, तराईको किसानसम्म, भरियादेखि दलितसम्मको भूमिका निर्वाह गरेको छु । जब कुनै एउटा अभिनेताले अभिनय गर्छ, त्यो कलाकारितामा मात्र सीमित रहँदैन ।

कलाकारले चरित्र गर्ने पात्रको भावना, भोगाइ, कठिनाइहरु कहीँ उसको मन मस्तिस्कमा तैरिरहेको हुन्छ । कतै न कतै अवचेतन मस्तिष्कमा बसिरहेको हुन्छ । फलामको काम गर्ने पात्र भएर अभियन गर्दा उहाँहरुकै घरमा गएर छायांकन गरिरहेको छु । उहाँहरुसँगै बसेर खाना खाएका छौँ ।

त्यतिबेला उहाँहरुको घरमा हामीलाई हेर्नको लागि गाउँभरिका मानिस भेला भएका हुन्थे । त्यतिबेला फलामको काम गर्ने दाइले खुशी हुँदै भन्नुहुन्थ्यो, ‘मेरो घर त सधै‌ं खाली हुन्थ्यो, कोही पनि आउनुहुन्नथ्यो तपाई आएर त पुरै गाउँ नै मेरो घरमा आयो ।’

त्यसैले, दलित समुदायको मानिसको घरमा जानेवित्तिकै रोग लाग्ने वा मृत्यु भइहाल्ने त होइन रहेछ । परम्पराबाट आएको एउटा मनोविज्ञान र कुप्रथाले मात्र निर्देशित गरेको रहेछ । यस्तो मनोविज्ञानलाई नै हटायो भने त कुनै समस्या नै रहँदैन ।

तर, जात रङ, पृष्ठभूमिको आधारमा मानिसमाथि अमानवीय व्यवहार देखिइरहेकै छ । यसको कहिले जरैदेखि उखेलिएर समाधान हुन्छ ? यो असाध्यै ठूलो प्रश्न हो । यद्यपि हाम्रो कर्तव्य भनेको यसबारे छलफल गर्ने, बोल्ने र जनतामा भेदभावको कुरालाई उजागर गरिरहने हो ।

(बिहीबार काठमाडौंमा आयोजित ‘जातको प्रश्न’ विषयक टेलिभिजन सम्वाद कार्यक्रममा चलचित्रकर्मी हमालद्वारा व्यक्त विचारको अनलाईन खबरमा प्रकाशित सम्पादित अंश)

बिहिबार, साउन १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७