दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिका १० स्थित गमौडी स्वास्थ्य चौकीमा निर्माण सम्पन्न भएको प्रसूति गृह (बर्थिङ सेन्टर) को औपचारिक उद्घाटन गरिएको छ ।
संघीय सरकारको बजेटबाट करिब रु. ३८ लाख ५६ हजार लागतमा निर्माण गरिएको प्रसूति गृहको पूर्व सांसद दिकपाल कुमार शाहीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद शाहीले जनताको आवश्यकता र मागका आधारमा स्वास्थ्य पूर्वाधार निर्माण गरिएको उल्लेख गर्दै यसले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सबै जनप्रतिनिधि तथा सरोकारवालाहरू जनताको सेवामा एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

दुल्लु नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालले प्रसूति गृह सञ्चालनमा आएपछि स्थानीय गर्भवती महिला तथा नवजात शिशुले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए । उनले आगामी दिनमा स्वास्थ्य सेवाको थप विस्तार र स्तरोन्नतिका लागि नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिए ।
यस्तै, वडा नं. १० का अध्यक्ष दिपेन्द्र कुमार पुरी ले वडाको विकासका लागि अझै धेरै चुनौतीहरू रहे पनि आगामी दिनमा थप योजनासहित काम अघि बढाइने बताए ।
नवनिर्मित प्रसूति गृह सञ्चालनमा आएपछि गमौडी तथा आसपासका क्षेत्रका गर्भवती महिलाले प्रसूति सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले स्वास्थ्य क्षेत्रमा भएको यो पूर्वाधार विकासलाई स्वागत गरेका छन् ।
बिहिबार, आषाढ ११, २०८३मा प्रकाशित गरिएको



