काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष र नियमित महाधिवेशनको विवाद तीव्र बनेका बेला नियमित महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौंमा भेला गर्न लागेका छन् ।
विशेष महाधिवेशनको पक्षधरहरूले हालै भेला गरेको प्रतिक्रियास्वरूप नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले बिहीबार बिहान ११:३० बजे अनुपम फुडल्यान्डमा भेला आयोजना गर्न लागेको हुन् ।
आयोजक नेताका अनुसार उक्त भेलामा पार्टीको आगामी दिशा, संगठनात्मक तयारी र महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने छ ।

कांग्रेसभित्र पछिल्लो समय नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद तीव्र बनेको छ। पार्टीका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् भने महामन्त्री गगन थापा नेतृत्वको समूहले भने विशेष महाधिवेशनको माग गर्दै आएको छ ।
थापा पक्षले विशेष महाधिवेशनको मागसहित संकलित हस्ताक्षर २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो । महामन्त्री थापाले २१ फागुनमा हुने नेतृत्व निर्वाचनअघि १६ देखि १९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
सो प्रस्तावको प्रतिकारस्वरूप संस्थापन पक्षका नेताहरूले धोबिघाटमा भेला गरी नियमित महाधिवेशनको कार्यतालिका तयार पारेका थिए । सो अनुसार सहमहामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय समिति बैठकमा २७ देखि ३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।
हालसम्म पार्टी केन्द्रीय समितिमा विशेष र नियमित महाधिवेशनका दुवै कार्यतालिका प्रस्तुत भइसकेका छन्, तर अन्तिम निर्णय भने भएको छैन ।
बिहिबार, कार्तिक २१, २०८२मा प्रकाशित गरिएको



