दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका ४ धनकोटमा धारिलो हतियार हँसिया प्रहारबाट चार जना महिला घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाका दुवै हत्केला काटिएका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा पुगेर घरका सदस्यहरूमाथि घरेलु हतियार हँसिया प्रहार गरी कुटपिट गरेका थिए ।

घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बिमा मगर गम्भीर घाइते भएकी छन् । उनको टाउको र अनुहारमा चोट लागेको छ । त्यस्तै, चन्द्रबहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला काटिएका छन् । घाइते अन्य दुई जना २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ठाटीकाँधबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। हँसिया प्रहार गर्ने रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते चारै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ। घटनाको कारण भने खुल्न बाँकी छ ।
आइतबार, कार्तिक २३, २०८३मा प्रकाशित गरिएको



