सुर्खेत । सुर्खेतमा लागूऔषध खैरो हेरोइन सहित सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारी पक्राउ परेका छन् । प्रहरीले सशस्त्र प्रहरीसहित चार जना पक्राउ परेका हो ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका १३, करेखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर १३ का २३ वर्षीय रूपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वीरेन्द्रनगर १२ का ३२ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन् ।

प्रहरीले सुरुमा रूपेश घर्ती मगरसहित दुई जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा नवराज चालिसे र बालाराम पौडेललाई थप ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ । यससँगै उनीहरूबाट कुल १२.०२० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको छ ।
ब्युरोका अनुसार पक्राउ परेका नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र रूपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिपत्रसमेत फेला परेको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ ।
शनिबार, कार्तिक २२, २०८३मा प्रकाशित गरिएको



