काठमाण्डौ । नेपालमा दलितको साक्षरता दर समग्र भन्दा झन्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित समुदायको साक्षरता दर ६७ दशमलव ४ प्रतिशतमात्रै रहेको हो । राष्ट्रिय जनगणना २०७८ मा आधारित यस प्रतिवेदन अनुसार देशको समग्र साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ ।
यस्तै नेपालमा ५ देखि २५ वर्षसम्मको कुल जनसङ्ख्याको ८ दशमलव १ प्रतिशत मानिस कहिल्यै विद्यालय नगएकामा दलिततर्फ यही उमेर समूहमा १३ दशमलव १ प्रतिशत जनसङ्ख्या कहिल्यै विद्यालय नगएको पाइएको छ । ५ देखि २५ वर्ष उमेर समूहका दलित महिलामध्ये ३१ दशमलव ६ प्रतिशत विद्यालय गएकै छैनन् ।
यस्तै नेपालमा समग्र बालविवाह दर १४ दशमलव १ प्रतिशत रहेकोमा दलित जातजातितर्फ बालविवाह दर २२ प्रतिशत रहेको पाइएको छ । दलित समुदायमा राष्ट्रिय औसतभन्दा अपाङ्गता दर, औसत आयुलगायतका सूचकहरू पनि कमजोर रहेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको १३ दशमलव ४ प्रतिशत जनसङ्ख्या दलित जातजातिको रहेको छ । पहाडी दलिततर्फ पाँच वटा जाति र तराई दलित समूहभित्र १७ वटा जाती सूचीकृत रहेका छन् ।
प्रतिवेदनले नेपालको दलित समुदायको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, आवासीय, रोजगारीलगायत जीवनका विविध पक्षमा आधारित अवस्थालाई उजागर गरेको छ । पछिल्लो जनगणनाबाट सङ्कलित तथ्याङ्कमार्फत दलित समुदायको विकासका चुनौती, अवसर र नीतिगत खाँचोहरूको पहिचान गर्न सहज हुने विश्वास गरिएको छ ।
आइतबार, बैशाख २८, २०८२मा प्रकाशित गरिएको