काठमाडौं । जेनजी प्रतिनिधिसँग राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ ।
शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए । त्यसपछि आईतबार छलफल तय भएको थियो ।
तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद नटुुंगिएकाले वार्ता अनिश्चित बनेको हो । फरक धारका जेनजीका कारण सरकार र राष्ट्रपति हैरान भएका छन् । शनिबार पनि १७ जना सहभागी हुने भनिएकाेमा २० जना सहभागी भएका थिए ।
तर, केही युवाहरुले वार्तामा बसेका सबै अमेरिकी युथ काउन्सिलसँग जोडिएका पात्र भएकाले आफूहरु असली जनेजी भएको दाबीसहित नाराबाजी गरेका थिए । त्यसयता सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद भएको छ ।
तीनपटक सूची निकालिँदा समेत सबै पक्षको सहमति नहुँदा मन्त्री नियक्ति प्रकृया समेत अन्योलमा परेको छ । हिजो मात्र केही मन्त्रीहरुको सूची नै सार्वजनिक गरिँदा मिराज ढुुंगाना लगायत युवाहरुले विरोध जनाएका छन् ।
प्रधानमन्त्रीको टेबलमा दर्जनौँ नाम पुगे पनि साझा व्यक्ति नपठाउँदा नियुक्तिमा समस्या भइरहेको छ। यही बीच सहजीकरणका लागि राखिएको बैठक समेत बस्न नसकेको हो ।
जेनजी प्रतिनिधि रक्षा बमले अहिलेसम्म छलफलका लागि कुनैपनि खबर नआएको बताइन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।
सोमबार, आश्विन २७, २०८२मा प्रकाशित गरिएको