दैलेख मा प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये एकजनाको बयानका आधारमा प्रहरीले लुकाएर राखिएको पेस्तोल बरामद गरेको हो । पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रहरीका अनुसार उनीहरूविरुद्ध २०८३ भदौ २२ गते प्रहरी हवल्दार कृष्णबहादुर रानासमेतको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो । अनुसन्धानका क्रममा भुपेन्द्र शाहीले २०८३ भदौ २६ गते अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा दैलेखको आठबीस नगरपालिका–४ राकम बजार नजिकैको खोल्सामा पेस्तोल लुकाएर राखेको बताएका थिए । उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमान्डमा तीनजनाको प्रहरी टोली खटिएको थियो । टोलीले इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गरेको थियो ।खोजतलासका क्रममा राकम बजार नजिकै खोल्साको झाडीमा कालो प्लास्टिकमा पोका पारेर लुकाइएको अवस्थामा ‘चेकस्लोभाकियामा निर्मित’ लेखिएको र १०५०२८ नम्बर उल्लेख भएको एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए । प्रहरीले पेस्तोलसँगै एक थान म्याग्जिन र पेस्तोलमा प्रयोग हुने पाँच राउन्ड गोलीसमेत बरामद गरेको छ । उक्त हतियार भदौ २६ गते दिउँसो १२ बजेको समयमा बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको सूचना अधिकारी बोहराले बताए । उनका अनुसार घटनाबारे हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
शनिबार, भाद्र २७, २०८३मा प्रकाशित गरिएको



