२५१ सदस्यीय प्रदेश कमिटी गठन
सुर्खेत । नेपाल दलित मोर्चाको कर्णाली प्रदेश एकता बैठक सुर्खेतमा सम्पन्न भएको छ । २०८३ भदौ १५ गते सम्पन्न बैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्माले दलित समुदायको अधिकार, संगठन निर्माण तथा सामाजिक न्यायका विषयमा थप प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।
बैठकमा पार्टी प्रदेश सह–इन्चार्ज टेकबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, पार्टी केन्द्रीय सदस्य तथा मोर्चाका विदेश विभाग प्रमुख बसन्त विश्वकर्मा, पार्टी केन्द्रीय सदस्यहरू रणसिंह परियार, उर्मिला विश्वकर्मा, दर्शन नेपाली, तुलाराज विक तथा मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिनेश चन्दारा, पार्वती विकलगायतले बैठकलाई सम्बोधन गरेका थिए ।
नेपाल दलित मोर्चा कर्णाली प्रदेश संयोजक मनिष गहतराजको अध्यक्षता तथा सह–संयोजक मदन नेपालीको सञ्चालनमा सम्पन्न बैठकले समसामयिक राजनीतिक, सामाजिक तथा दलित समुदायसँग सम्बन्धित विभिन्न विषय समेटेर ९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
बैठकले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बाढीबाट घाइते भएकाहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्न तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिकलाई अपिल गरिएको छ ।
मोर्चाले विपद्का समयमा राहत वितरणमा राजनीतिक पूर्वाग्रह तथा विभेद नगर्नसमेत सरकारसँग माग गरेको छ ।
त्यसैगरी, पार्टीको नेतृत्वमा गठन भएको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
बैठकले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका दलित भूमिहीन, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा मुक्त हलियाको पुनःस्थापनाका लागि स्पष्ट खाका निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ ।
लामो समयदेखि बहसमा रहेको दलित अधिकार विधेयक तत्काल संशोधन गरी अधिकारसम्पन्न दलित विकास समिति गठन गर्नुपर्ने माग पनि मोर्चाले अघि सारेको छ। दलित सशक्तीकरण तथा विकाससँग सम्बन्धित प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ ।
कर्णाली प्रदेशमा दलित समुदायले भोग्दै आएको गरिबी, शोषण, बहिष्करणलगायत बहुआयामिक समस्याको एकीकृत रूपमा समाधान गर्न प्रदेश सरकारसँग माग गरिएको छ

।
त्यस्तै, मुगुका गणेश नेपालीमाथि राज्यका तर्फबाट भएको भनिएको चौतर्फी घेराबन्दीका कारण उनले आत्मदाहमार्फत दलित युवाको बेरोजगारी तथा बहिष्करणविरुद्ध विद्रोह गरेको उल्लेख गर्दै नेपाल सरकार र गणेश नेपालीको परिवारबीच भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न बैठकले माग गरेको छ । सहमतिअनुसार गणेश नेपाली
की श्रीमतीका लागि रोजगारी तथा छोरीको शिक्षालगायतका माग पूरा गर्न सरकारसँग आग्रह गरिएको छ ।
देशका विभिन्न भागमा दलित समुदायमाथि जातीय कारणले भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नसमेत बैठकले माग गरेको छ ।
बैठकले २५१ सदस्यीय नेपाल दलित मोर्चा कर्णाली प्रदेश कमिटी गठन गरेको छ । आगामी तीन महिनाभित्र संगठन विस्तार तथा निर्माणसँगै ‘दलित पुनर्जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरिएको छ । कमिटीकाे संयाेजकमा सुर्खेतका मनिष गहतराज र सह संयाेजकमा हुम्लाका मदन परियारलाइ जिम्मेवारी दिइएकाे छ ।
मोर्चाले संगठनलाई प्रदेशका १० वटै जिल्लामा थप सुदृढ गर्दै दलित समुदायका अधिकार, सामाजिक न्याय, समानता र सशक्तीकरणका सवाललाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
बुधबार, भाद्र १७, २०८३मा प्रकाशित गरिएको



