सुर्खेत । एकीकृत कृषि प्रयोगशाला आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल वि.सीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा वि.सीलाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।
प्रहरीले वि.सी विरुद्ध साउन ८ गते आत्महत्या दुरुत्साहनको कसुरमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरेको थियो । जाजरकोटको भेरी नगरपालिका १ घर भई विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा कार्यरत सिंह वीरेन्द्रनगर ७, इत्रामस्थित कार्यालयको आवास गृहमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।
बेहोस अवस्थामा भेटिएकी सिंहलाई तत्काल उद्धार गरी देउती अस्पताल हुँदै कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनालाई अस्वाभाविक भन्दै मृतकका श्रीमान् महेश बस्नेतले नायब सुब्बा वि.सी विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर ८, खजुराबाट वि.सीलाई पक्राउ गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सिंह र विसीबीच सामाजिक सञ्जाल फेसबुकमा भएका कुराकानी तथा केही शंकास्पद च्याट संवाद फेला परेको प्रहरीले जनाएको थियो । अदालतको आदेशसँगै वि.सी अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामा रहनेछन् ।
मंगलबार, भाद्र ०९, २०८३मा प्रकाशित गरिएको



