नेपालगञ्ज । लागुऔषध (ब्राउन सुगर) मुद्दामा सुर्खेत जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३४ वर्षीय ‘राजु’ भन्ने कमरूदिन अन्सारी रहेका छन्।
नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज, बाँके) बाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको टोलीले विशेष खोजतलासका क्रममा आइतबार बिहान करिब ११ बजे नेपालगञ्ज–१ स्थित शिव मन्दिर नजिकबाट अन्सारीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार अन्सारीविरुद्ध लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा सुर्खेत जिल्ला अदालतले २०८० साउन १ गते १ महिना १५ दिन कैद सजाय सुनाएको थियो। अदालतको फैसला भएपछि उनी फरार रहँदै आएका थिए।
पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
सोमबार, साउन ०४, २०८३मा प्रकाशित गरिएको



