सुर्खेत । कर्णाली छोरी सम्मेलनको दोेस्रो संस्करण शनिबारदेखि आयोजना हुने भएको छ । श्री ज्योति फाउन्डेशनको आयोजनामा बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित कर्णाली छोरी सम्मेलन २०८३ को दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।
शुक्रबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा श्री ज्योति फाउन्डेशनका अध्यक्ष ज्योति कटुवालले सम्मेलनको सम्पूर्ण तयार पुरा भएको बताइन ।

सम्मेलन यहि जेठ १६ र १७ शनिबार र आइतबार सुर्खेतको वीरेन्द्रनगरनमा सञ्चालन हुनेछ । सम्मेलनमा कर्णाली प्रदेश का ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको सहभागिता रहनेछ ।
साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सहभागी गरी करिब दुई सय ५० भन्दा बढीको उपस्थिति रहने फाउन्डेशनका अध्यक्ष कटुवालले जानकारी दिइन ।
सम्मेलनको मुख्य उद्देश्य लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट प्राप्त निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्नु रहेको उनले बताइन ।
उनका अनुसार दुई दिने सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् । सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न प्यानल छलफल सत्रसमेत सञ्चालन हुने कार्यक्रम छ । फाउन्डेसनले यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो ।

उक्त सम्मेलनमार्फत प्रदेशस्तरीय कर्णाली छोरी सञ्जाल गठन गरिएको थियो भने प्रदेशका ७९ वटै स्थानीय तहमा पालिकास्तरीय छोरी सञ्जाल गठन गरी ६ सय ६९ जना छोरीहरूलाई सञ्जालमा आबद्ध गरिएको फाउन्डेसनले जनाएको छ ।
यस्तै, फाउन्डेसनले जाजरकोट भूकम्प प्रभावित तथा विपन्न छोरीहरूको शिक्षाका लागि छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । फाउन्डेसनले हरेक वर्ष १५ जना भूकम्पपीडित र १५ जना विपन्न छोरीहरूलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको फाउन्डेशनका अध्यक्ष कटुवालले जानकारी दिइन् ।
शुक्रबार, जेठ १५, २०८३मा प्रकाशित गरिएको



