सुर्खेत । श्री ज्योती फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका १५ जना छात्रालाई तेस्रो पटक छात्रवृत्ति प्रदान गरिएको हो ।
भूकम्पपछि सुर्खेतमा आयोजना गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकममार्फत फाउन्डेसनले छात्रवृत्ति वितरण सुरु गरेको हो। प्रारम्भमा १५ छात्राबाट सुरु गरिएको कार्यक्रम अहिले विस्तार भएर कर्णाली प्रदेशका १० वटै जिल्लाका ३० जना छात्रासम्म पुगेको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनकी अध्यक्ष ज्योती कटुवालका अनुसार आगामी वर्षहरूमा छात्रवृत्ति कार्यक्रम अझै विस्तार गर्ने योजना रहेको छ । फाउन्डेसनले छात्राहरूलाई एक वर्षका लागि आवश्यक स्टेशनरी सामग्री, झोला र विद्यालय पोशाक उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर पुनले भूकम्पका कारण प्रभावित तथा अभिभावक गुमाएका जेहेन्दार छात्राका लागि यस्तो सहयोग प्रभावकारी भएको बताए ।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज विश्वकर्माले विपन्न तथा प्रतिभाशाली छात्रालाई विद्यालयमा टिकाइराख्न छात्रवृत्ति कार्यक्रम उपयोगी रहेको बताए ।
जन ज्योती आधारभूत विद्यालय रुकुम पश्चिमकी शिक्षिका सुनिता देवकोटाले पनि छात्रवृत्तिले विपन्न परिवारका बालिकालाई नियमित विद्यालय जान प्रेरित गरेको बताइन् ।
मंगलबार, बैशाख २२, २०८३मा प्रकाशित गरिएको



