विद्यार्थी उपस्थितिमा वृद्धि
दैलेख । दैलेखका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । विद्यालयमा नियमित उपस्थित नहुने बालबालिकालाई पनि विद्यालयमा आकर्षित गर्न थालेपछि दैलेखमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
दिवा खाजा कार्यक्रम लागू हुनुभन्दा पहिले दैलेखका धेरै बालबालिका दिउँसो भोक लागेपछि पढाइ छाडेर नास्ताका लागि घर जाने गरेका थिए । तर विद्यालयमै मिठो र पोषिलो खाजा खान पाइने भएपछि पछिल्लो समय बालबालिका नियमित रूपमा विद्यालय आउन थालेका छन् ।

यसले विद्यार्थी संख्यामा समेत वृद्धि भएको भगवतीमाई गाउँपालिका ७ स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक तिर्थराज थापाले बताए । विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमले साना बालबालिकालाई विद्यालय आउन थप उत्प्रेरित गरेको उनले बताए ।
यस्तै, डुङ्गेश्वर गाउँपालिका १ त्रिवेणी संगम माध्यमिक विद्यालय चुप्राका प्रधानाध्यापक तेज बहादुर वि.क.का अनुसार विद्यालयमा दिवा खाजा उपलब्ध भएपछि बालबालिकाको बानी व्यवहार र पढाइमा समेत सुधार आएको छ । विद्यालयले हप्ताको ६ दिन चना, अण्डा, हलुवा, मासु, समोसा, खिचडी लगायतका परिकार तालिका बनाएर खुवाउने व्यवस्था गरेको प्रधानाध्यापक वि.कले जानकारी दिए ।
नेपाल सरकारले बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अर्न्तगत दैलेखका बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा खुवाउन प्रतिविद्यार्थी २० रुपैयाँका दरले विद्यालयमा रकम निकासा हुने डुङ्गेश्वर गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय उमका प्रधानाध्यापक नेत्र बहादुर वलीले बताए ।

स्वस्थ र पोषिलो खाजाले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको स्थानीयहरूको भनाइ छ । विद्यालयमा खाजाको व्यवस्था भएपछि बालबालिका स्वास्थ्य रहँदै शिक्षण सिकाइमा सक्रिय हुन थालेको प्रधानाध्यापक वलीले बताए ।
यसैगरी भगवतीमाई गाउँपालिका ७ का स्थानीय अमर तिरुवाका अनुसार दिवा खाजा कार्यक्रमकै कारण बालबालिकाको पढाइमा सुधार देखिन थालेको छ ।
हाल दैलेखका ४ सय ६९ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ ।




