काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङले प्रदर्शन नियन्त्रणमा लेथल हतियार प्रयोग गरी अधिक बल प्रयोग गर्न आदेश दिएको र त्यसबाट प्रदर्शनकारीको ज्यान गएको भन्दै अनुसन्धान र अभियोजन आवश्यक रहेको राय दिएको हो ।
काठमाडौँको नयाँ बानेश्वरमा किशोरहरूको मृत्यु हुनेगरी प्रहरीले गोली चलाउँदा खापुङ प्रहरी महानिरीक्षक थिए । फिल्डमा खटिएका अधिकृतहरूले आयोगलाई बताएअनुसार, तत्कालीन आईजीपीले प्रहरी सञ्चार सेट (वाकीटकी) बाट गोली चलाउन आदेश दिएका थिए ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रजिअ छविलाल रिजाललाई पनि फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।
गृह मन्त्रालयका तथ्यांक अनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ प्रदर्शनकारीको मृत्यु भएको थियो । समग्र प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
साथै आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका पदाधिकारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार, “जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा र अरूलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।”
सोमबार, फाल्गुण २५, २०८२मा प्रकाशित गरिएको



