सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने अवसरका रूपमा चित्रण गरेका छन् । कर्णालीमा आयोजित परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै उनले रगतबाट नभइ जनताको भोटबाटै परिवर्तन सम्भव भएको बताए ।
निर्वाचन केवल मतदानको दिन होइन, देशको दिशा तय गर्ने दिन हो भन्दै उनले जनताले २१ गते अनुमोदन गरेर विश्वलाई देखाउने उल्लेख गरे ।
साथै लामिछानेले लोकतन्त्रमाथि खतरा रहेको भनाइप्रति आपत्ति जनाउँदै लोकतन्त्रको असली संरक्षक जनता नै भएको दाबी गरे । लोकतन्त्र जोगाउने ठेक्का कुनै नेता वा पार्टीले लिनु नपर्दैन बताउँदै उनले जनता जागेपछि लोकतन्त्र बलियो हुने ठोकुवा गरे ।

उनले परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नुपर्नेमा जोड दिए । लामिछानेले बहुमतसहितको स्थिर सरकार आवश्यक रहेको बताउँदै रास्वपालाई स्पष्ट जनादेश दिन आह्वान गरे ।
पाँच वर्ष स्थायी सरकार नदिइए मुलुक फेरि अस्थिरतातर्फ जाने संकेत दिंदै रास्वपाले सबैभन्दा बढी युवा उम्मेदवार उठाएको दाबी गर्दै लामिछानेले पार्टीमा महिला, डाक्टर, इन्जिनियर, खेलाडी, विभिन्न पेशा–व्यवसायका प्रतिनिधिहरू समेटिएको बताए ।
‘यो पटक नेता जिताउने होइन, जनता जिताउने चुनाव हो’ उनले भने । सभापति लामिछानेले पाँच वर्षको स्थिर सरकारमार्फत् देशलाई सही दिशामा लैजान रास्वपा तयार रहेको वाचा गरे ।
बिहिबार, फाल्गुण ०७, २०८२मा प्रकाशित गरिएको



