काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीसहित सरकार र र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानबीच आज (बिहीबार) वार्ता हुँदै छ । स्रोतका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे वार्ता हुने भएको हो ।
वार्तामा सरकार पक्षबाट प्रधानमन्त्री कार्की स्वयं उपस्थित हुने कार्यक्रम छ । यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता गरेको थियो । त्यसपछि आज प्रसाईंले प्रधानमन्त्रीसँगै वार्ता गर्न लागेको हो ।

त्यसो त पुस १५ गते प्रसाईंले प्रधानमन्त्री कार्कीसँग भेट गरिसकेका छन् । त्यस बेला प्रधानमन्त्री कार्कीले प्रसाईंलाई मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।
सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षसँग वार्ता र संवाद गरिरहेको हो ।
बिहिबार, पौष १७, २०८२मा प्रकाशित गरिएको



