सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिप्पर र मोटरसाइकल ठोक्किदा एक युवक गम्भीर घाइते भएका छन् ।
बुधबार बिहानै वीरेन्द्रनगरको एरीचोकबाट बसपार्कतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ क ००२४ नम्बरको टिप्परले मण्डीलाईनबाट मंगलगढीतर्फ जाँदै गरेको बा.प्र.०२ ०३५ प ३७९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कालिकोटको शुभकालिका गाउँपालिका ६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका ८ मा बस्दै आएका १८ वर्षीय टेकराज शाही गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालकको दुबै खुट्टा र शरीरका विभिन्न भागमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते शाहीको कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । प्रारम्भिक उपचारका क्रममा बाहिरी चोट नदेखिए पनि सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएको र अस्पतालमा न्युरो सर्जन उपलब्ध नभएकाले उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी गरिएको छ ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन र टिप्पर चालक वीरेन्द्रनगर नगरपालिका २ का २३ वर्षीय कमल नेपाली हाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।
बुधबार, पौष ०९, २०८२मा प्रकाशित गरिएको



