काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालसँग तीन दिन लगाएर बयान लिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार भदौ २३ र २४ गतेको घटनाबारे जानकारी लिन आयोगको कार्यालय सिंहदरबारमै बोलाएर रिजालसँग तीन दिनसम्म बयान लिइएको थियो ।
रिजाल त्यसबेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । उनी नै सबै घटनाका साक्षी रहेको र गोली चलाउने आदेश पनि उनैले दिएको हुनाले बयान लामो भएको एक अधिकारीले जानकारी दिए ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले रिजालबाहेक अब नेपाल प्रहरीका तत्कालीन प्रमुख आईजीपी चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी बल प्रमुख आईजीपी राजु अर्याललाईसमेत बयानका लागि बोलाउने तयारी गरेको छ ।
जेनजी आन्दोलनका बेला प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक थिए । यी सबै काम यही महिनाभित्रै सकेर प्रतिवेदनलाई पूर्णता दिने ती अधिकारीले बताए । आयोगको म्याद पुसको ९ गतेसम्म रहेको छ ।
आइतबार, मंसिर २२, २०८२मा प्रकाशित गरिएको



