काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन् ।
संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको बताएका हुन् ।
त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयम आफूहरुले फरक मत राखेको बताउँदै प्रचण्डले अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताएका छन् ।
त्यसबेलाका ठूला भनिकए कांग्रेस–एमालेले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएको दाबी गर्दै प्रचण्डले अहिले जेनजी आन्दोलनले आधार तय गरेको बताए ।
संविधान बनाउँदा नै माओवादीले राखेको फरक मतलाई समेटेको भए अहिलेको परिस्थित नआउने बताउँदै प्रचण्डले भने, ‘राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो । बहस भयो । सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्थेन् । यति ठूलो क्षति हुनेथिएन ।
प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठीक थिए भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको दोहोर्याउँदै प्रचण्डले संविधानलाई संशोधन गरेर जानु पर्ने धारणा राखेका हुन् । ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए’, उनले भने, ‘१० वर्षपछि पुन संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा प्रचण्डले अहिलेका ठूला भनिएका दलहरुको अहंकारले यो भयंकर अवस्था आएको बताउँदै उनीहरुलाई संविधान बनाउने बेलामा पनि कुनै चिन्ता नभएको आरोप लगाए ।
शुक्रबार, आश्विन ०३, २०८२मा प्रकाशित गरिएको