सन्जिव कुमार वि.सी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनीकरण र राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
एक वर्षको अवधिमा नियम उल्लंघन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनमाथि कारबाही गर्दा १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो । जिल्ला ट्राफिक सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २९ लाख १५ हजार ५०० रुपैयाँले बढी हो ।
गत वर्ष २०८०/०८१ मा १५ हजार ८ सय ४२ सवारीसाधनमाथि कारबाही गरेर १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रमुख सुनारले बताए ।
यस वर्ष संकलित राजस्वमध्ये सबैभन्दा बढी ५४ लाख २६ हजार रुपैयाँ मोटरसाइकलबाट उठाइएको हो भने जीप-कार-भ्यानबाट २३ लाख ४६ हजार ५ सय, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार ५ सय, बस तथा मिनी बसबाट १४ लाख ४४ हजार ५ सय र ट्याक्टरबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।
यस आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमध्ये ६ हजार ७ सय ५० वटा मोटरसाइकल, ३ हजार ७२ जीप–कार–भ्यान, २ हजार ८ सय ६१ ट्रक–टिपर, २ हजार २५ अटो टेम्पो, १ हजार ६ सय १४ बसरमिनी बस र ८ सय २९ ट्याक्टर रहेको जनाइएको छ ।
यस्तै, गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या भने घटेको ट्राफिक रेकर्डमा उल्लेख छ। २०८०–०८१ मा ६ सय ७३ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु र १ हजार १ सय ८४ जना घाइते भएका थिए भने २०८१/०८२ मा दुर्घटनाको संख्या घटेर ४ सय २३ मा झरेको भए पनि मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
तीमध्ये २९ पुरुष, ६ महिला, १ बालक र ३ बालिका रहेका छन्। मृतकमध्ये १२ जना चालकसमेत छन्। घाइतेको संख्या भने घटेर ९ सय ३६ रहेको ट्राफिक प्रमुख सुनारले बताए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ हजार ५ सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख १३ हजार १ सय २ सवारी चालक, सहचालक र पैदलयात्री लाभान्वित भएका छन् ।
क्याम्पस, विद्यालय, चालक, सहचालक, सवारीधनी र पैदलयात्रीहरू लक्षित ती कार्यक्रमले जनचेतना अभिवृद्धिमा सघाउ पुर्याएको प्रमुख सुनारले बताए ।
सुनारले सुर्खेत ट्राफिक प्रमुख सम्हाले यता दुर्घटना क्षेत्र पहिचान गरी संरचना सुधारका साथै जानकारीमूलक बोर्डहरू राखेको छ भने गति नियन्त्रणका लागि राडर गनको प्रयोग, टीसीएमार्फत कारबाही, लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, ८ सय ८६ वटा रोड फर्निचरको व्यवस्थापन, ८४ वटा मोडिफाइड तथा चर्को आवाजमा चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
प्रविधिमैत्री ट्राफिक प्रशासन विकास गर्न ई–चलान प्रणाली, अनलाइन ट्राफिक सचेतना, ट्राफिक लाइट जडान लगायतका कार्यहरू गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
यसरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक अनुशासन, प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिमार्फत दुर्घटना न्यूनीकरण र राजस्व संकलन दुबैमा प्रशंसनीय प्रगति गरेको छ ।
बिहिबार, साउन १६, २०८२मा प्रकाशित गरिएको