सुर्खेत । लागु औषध (ब्राउन सुगर) मुद्दामा कैद सजाय फैसला भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट १५ वर्ष कैद र पाँच लाख जरिवना फैसला तोकिएका लक्ष्मण सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
वीरेन्द्रनगर–६ सुर्खेत घर भएका ४२ वर्षीय सापकोटालाई उच्च अदालत तुलसीपुर दाङले ५ असार २०८० मा कैद र जरिवाना फैसला गरेको थियो । फैसला लगत्तै फरार सूचीमा रहेका सापकोटालाई प्रहरीको विशेष टोलीले वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
सापकोटालाई प्रहरीले लामो समयदेखि निगरानीमा राख्दै आएको थियो । उनी प्रायः भारतमा बस्ने र कहिले पूर्वी नेपालका विभिन्न जिल्लामा लुक्दै आएकाले उच्च निगरानीमा राखेर पक्राउ गर्न सफल भएको प्रवक्ता बुढथापाले बताए ।
फैसला कार्यन्वयनको लागि पक्राउ परेका सापकोटालाई सोमबार सुर्खेत जिल्ला अदालतमा पेश गरेर कैद सजाय भुक्तानका लागि कारागारा कार्यालय सुर्खेत पठाइएको छ ।
सोमबार, साउन १३, २०८२मा प्रकाशित गरिएको