काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमजोरी भए प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् ।
महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिदैं एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने भनाइ राखे ।
महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे । वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकताबद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताए । महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैँभित्र कमी भए पनि खोजी गर्नसक्ने सामर्थ्य राख्नुपर्ने बताए ।
आइतबार, साउन १३, २०८१मा प्रकाशित गरिएको