हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । मुगुकि मल्ल थरकि केटीसंग प्रेम विवाह गरेका कामी केटीपक्षबाट बेपत्ता पारिएका उनी सकुसल फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो । प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बेपत्ता चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए ।
हुम्ला सर्केगाड गाउँपालिका १ को जैर गाउँका १९ वर्षिय चन्द्रे र मुगु जिल्ला सोरु गाउँपालिका ४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्ल मंसिर ५ गते विवाह बन्धनमा बाधिएका थिए भने २९ गतेदेखि नै चन्द्रे बेपत्ता रहेका थिए ।