सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिट नजिक भित्री सडकखण्डमा अटोको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा भारतमा मृत्यु भएको छ।
प्रहरीका अनुसार असार २४ गते बिहान वीरेन्द्रनगर–५ निवासी २३ वर्षीय राजु सुनारले चलाएको क.प्र. ०२००१ स १०९४ नम्बरको अटोले पैदल यात्री वीरेन्द्रनगर–११ निवासी ६० वर्षीय रत्नबहादुर विकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई कर्णाली केयर अस्पताल, सुर्खेत लगिएको थियो।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम रिफर गरिएको थियो। त्यसपछि असार २६ गते फेरि थप उपचारका लागि भारतको लखनउस्थित सिटी अस्पताल पठाइएको थियो।
उपचारकै क्रममा साउन १४ गते बिहान रत्नबहादुर विकको लखनउस्थित सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँको शव गृहमा शव ल्याई राखिएको छ।
बिहिबार, साउन १४, २०८३मा प्रकाशित गरिएको



