सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिका–१२ सल्लिचोकस्थित एक होटलको कोठाभित्र अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका–९ स्थायी घर भएका तथा हाल सल्लिचोकमा ‘न्यू जाजरकोटी धर्मा शक्ति एण्ड लज’ सञ्चालन गर्दै आएका मान बहादुर खड्काको होटलमा उक्त घटना भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार, जेठ २ गते राति करिब १०:३० बजे सल्लिचोक बस्ने वर्ष ३० का राकेश सुनारले होटलको कोठा नम्बर ३ बुक गरी बसेका थिए । त्यसपछि असार ३ गते बिहान करिब ४:३० बजे उनले सोही स्थानका वर्ष ३८/३९ का लोक बहादुर डाँगीलाई होटलमा बोलाएर सँगै बसेका थिए ।
बुधवार बेलुका करिब ५:२५ बजे होटल सञ्चालककी २४ वर्षीया छोरी मंगला खड्काले कोठा जाँच गर्ने क्रममा लोक बहादुर डाँगीलाई अचेत अवस्थामा फेला पारेकी थिइन् ।

अचेत अवस्थामा फेला परेका डाँगीलाई तत्काल उपचारका लागि छिन्चुस्थित गणेश मेडिकलमा लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि वडा अध्यक्ष राम बहादुर डाँगीको पहलमा कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले बुधवार बेलुका ६:२० बजे उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश के.सी.को नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
यसैबीच, घटनाको थप अनुसन्धानका लागि प्रहरीले सोही कोठामा बस्ने वर्ष ३० का राकेश सुनारलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखेर घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि खुल्ने जनाएको छ ।
बिहिबार, आषाढ ०४, २०८३मा प्रकाशित गरिएको



