सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा सडकमा बस्ने बालबालिकाले पैदल यात्रुहरूलाई सास्ती दिँदै आएको स्थानीयले बताएका छन् । वेवारिसे अवस्थामामा रहेका ती बालबालिकाले यात्रुसँग जबर्जस्ती पैसा माग्ने, दुर्व्यवहार गर्ने, गाली गलौज गर्ने तथा गल्ली गल्लीमा समूह बनाएर हिँड्ने जस्ता गतिविधि बढ्दै गएको छ ।
आर्थिक अवस्था कमजोर भएका र आमाबुबा कामको सिलसिलामा बाहिर रहँदा सडकमा आश्रित बनेका यी बालबालिकामध्ये धेरैजना लागुपदार्थ ‘सोलुसन’ सेवनको लतमा फसिरहेको स्थानीय स्रोतले जनाएका छन् । नशा सेवन गर्दै सडकमा मात्तिने गरी हिँडडुल गर्ने उनीहरूले सर्वसाधारणलाई थप त्रसित बनाएको छ ।

स्थानीयको भनाइअनुसार, बजार क्षेत्र विशेषगरी भीडभाड हुने स्थानमा पैदल यात्रुबाट जबर्जस्ती रकम असुल्ने तथा व्यवहारिक दुव्र्यवहार गर्ने घटनाहरू बढिरहेका छन् । बालसुरक्षा, पुनर्स्थापना तथा अभिभावकको जिम्मेवारीबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयले यथाशीघ्र प्रभावकारी कदम चाल्न माग गरेका छन् ।
तस्विर : फाइल फाेटाे
शुक्रबार, मंसिर १३, २०८२मा प्रकाशित गरिएको



