जाजरकाेट । जाजरकोटको शिवालय गाउँपालिकामा मोबाइल नेटवर्क सेवा घाम अस्ताएसँगै अवरुद्ध हुने गरेको छ । स्थानीयका अनुसार साँझ घाम अस्ताएलगत्तै मोबाइल नेटवर्क बन्द हुने र भोलिपल्ट बिहान घाम लागेपछि मात्र पुनः सुचारु हुने गरेको छ ।
पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाका कार्यक्रम व्यवस्थापक रामप्रसाद जैसीका अनुसार साँझ करिब ६ बजेदेखि नेटवर्क गायब हुने र बिहान ७ बजेतिर मात्रै सेवा फर्किने गरेको छ । उनले घाम नलागेका दिन वा वर्षा तथा बादल लागेको समयमा दिउँसै पनि सिग्नल हराउने समस्या रहेको बताए ।
मोबाइल नेटवर्क अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि खबर गर्न, आकस्मिक घटनाको जानकारी दिन तथा आपत्कालीन सेवा लिनसमेत कठिनाइ हुने गरेको स्थानीयहरूको गुनासो छ । शिवालय ५ का स्थानीय महेन्द्र शाहीले सामान्य पानी परे वा बादल लागे पनि नेटवर्क बन्द हुने गरेको बताए । उनका अनुसार घाम लागेको दिन बेलुकीसम्म सेवा उपलब्ध भए पनि वर्षा वा बदली भएको दिनमा दिउँसै नेटवर्क हराउने गर्छ ।

‘फोन लागे पनि घाम लागेको दिन मात्रै राम्रोसँग कुरा हुन्छ, अन्य समयमा सेवा प्रभावकारी हुँदैन,’ उनले भने, ‘कहिलेकाहीँ घाम लागेको दिनमा समेत फोनमा आवाज नसुनिने र आफैँ कल कट्ने समस्या हुन्छ ।’ अर्का स्थानीय टोपेन्द्र शाहीले पनि नेटवर्क समस्याले दैनिक जीवन प्रभावित भएको बताए ।’ दिउँसो होस् वा बेलुका, राम्रोसँग नेटवर्क आउँदैन,’ उनले भने, ,’यो विषयमा न यहाँका सांसदले चासो दिएका छन्, न गाउँपालिकाले नै प्रभावकारी पहल गरेको देखिन्छ ।’
यो समस्या कुनै एक-दुई वडामा सीमित नभई गाउँपालिकाभर फैलिएको छ । रोचक त के छ भने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह र प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाको यो गृहपालिका समेत हो । मन्त्री र सांसदकै पालिकामा आधारभूत सञ्चार सेवा प्रभावित हुँदा स्थानीयहरू आक्रोशित बनेका छन् ।
यता शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले सोलार ऊर्जाबाट सञ्चालन हुने टेलिकम टावरमा पर्याप्त घाम नलाग्दा ब्याट्री चार्ज हुन नसक्ने र त्यसकै कारण सेवा अवरुद्ध हुने गरेको बताए । नेपाल टेलिकम जाजरकोटले भने मौसमका कारण नेटवर्क सेवामा समस्या देखिने गरेको जनाएको छ । प्रतिनिधिसभा सदस्य बुढाले नेटवर्क समस्याको समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र छलफल भइरहेको बताए ।
उनका अनुसार सोलार ऊर्जाबाट सञ्चालन भइरहेका टावरहरूको ब्याट्री चार्ज सकिँदा सेवा अवरुद्ध हुने समस्या देखिएको हो । उनले दीर्घकालीन समाधानका लागि टावर रहेका स्थानमा विद्युत् विस्तार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफू सक्रिय रूपमा पहल गरिरहेको दाबी गरे ।
सोमबार, जेठ २५, २०८३मा प्रकाशित गरिएको



