१९४ ग्राम लागुपदार्थ चरेस बरामद
सुर्खेत । सुर्खेतमा प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लामा शान्ति सुरक्षा सुदृढ पार्ने र लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालित विशेष निगरानी तथा अनुसन्धान अभियानका क्रममा बिहिवार १ जना महिला सहित २८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेहरूमा २७ जना पुरुष र १ जना महिला रहेका छन् । उनीहरू लागुऔषध सेवन, सार्वजनिक स्थानमा झैझगडा, पुराना लागुऔषध सम्बन्धी मुद्दामा संलग्नता तथा विभिन्न शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका २८ जनामध्ये दुई जनाको साथबाट लागुऔषध चरेस बरामद गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ८ बस्ने ३६ वर्षीय सर्जन शाही र ३५ वर्षीया दुर्गा शाहीको साथबाट १९४ ग्राम कालो पदार्थ (चरेस जस्तो देखिने) बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
बिहिबार, बैशाख १०, २०८३मा प्रकाशित गरिएको



