सुर्खेतमा सार्वजनिक सवारी सञ्चालन ठप्प पार्ने चेतावनीसहित यातायात व्यवसायी आन्दोलित भएका छन् ।
राताे नम्बर प्लेटका सवारीसाधन माथि कडाइ नगरी उल्टै सार्वजनिक सवारी साधन र मजदुरमाथि प्रहरीले धरपकड गरेको आरोप लगाउँदै भोली शक्रवार देखि जिल्लाभर यातायात सेवा बन्द गर्ने घोषणा गरिएको हो ।
जिल्लामा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लिहरूले संयुक्त रूपमा निर्णय गर्दै प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाही तत्काल बन्द गर्न माग गरेका छन् ।
व्यवसायीहरूले निजी प्रयोजनका लागि दर्ता भएका राताे प्लेटका सवारीहरूलाई खुला छाडेर सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गर्नु अन्यायपूर्ण भएको बताएका छन् ।
यातायात बन्दको निर्णयसँगै भोलीदेखि सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी सेवा पूर्ण रूपमा प्रभावित हुने देखिएको छ । यसले यात्रुहरूलाई सास्ती हुने देखिएकाे छ ।
बिहिबार, चैत्र १९, २०८२मा प्रकाशित गरिएको



