सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यातायात व्यवस्था कार्यालयबाट ६ जना पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी १६ जनालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण, जग्गा नामसारी तथा भु–सेवा सम्बन्धी काम गरिदिन्छु भन्दै रकम लिइ बिचौलियाको रूपमा काम गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध भएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय आसपासबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर १ प्रगतिशील टोलका ३६ वर्षीय दीपक बहादुर विक, वीरेन्द्रनगर ३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वीरेन्द्रनगर १२ का ३३ वर्षीय प्रदीप खड्का, लेकवेशी नगरपालिका ३ का ३७ वर्षीय रमेश दमाई, वीरेन्द्रनगर ५ का २८ वर्षीय हरिप्रसाद देवकोटा र वीरेन्द्रनगर १० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम रहेका छन् ।
त्यस्तै मालपोत कार्यालय परिसरबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर ११ की ३२ वर्षीया रोशमी तिवारी, वीरेन्द्रनगर ३ की २५ वर्षीया लक्ष्मी शाही, ३४ वर्षीया पार्वती योगी, वीरेन्द्रनगर १२ की ३८ वर्षीया कुसुम बुढा क्षेत्री, वीरेन्द्रनगर ५ की ३५ वर्षीया पवित्रा न्यौपाने, वीरेन्द्रनगर ११ की ३१ वर्षीया दुर्गा शाही, २० वर्षीया गीता सुनार, वीरेन्द्रनगर ६ की २३ वर्षीया सम्झना योगी, १८ वर्षीया रोशनी शाही र ३८ वर्षीया निर्मला योगी रहेका छन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
photo : Ai
बिहिबार, चैत्र १९, २०८२मा प्रकाशित गरिएको



