थप अनुसन्धान सीआईबीले गर्ने
सुर्खेत । वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको खुलेको छ ।
गुर्भाकोट नगरपालिका ६ बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर ४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
मृतकलाई सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसाबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको देखिएको छ । सोहीदिन बिहान शहीद पार्क घुम्न जाने पूर्वसल्लाहअनुसार उनीहरू पार्क नजिकैको जंगलतर्फ गएको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानअनुसार जबरजस्ती करणीपछि पीडितको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको छ ।
कर्णाली प्रदेश अस्पताल कालागाउँका तीन जना चिकित्सक र भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार प्राप्त भएको हो ।
रिपोर्टमा जबरजस्ती करणीका क्रममा पीडितको संवेदनशील अंग गम्भीर रूपमा च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको डा. शाक्यले बताए । उनका अनुसार पीडितको पाठेघरसम्म घाउको धब्बा देखिएको छ ।

यस घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधबार घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।
प्रहरी निरीक्षकको नेतृत्वमा सीआईबीको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुग्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी बुढथापाले जानकारी दिए ।
उनका अनुसार सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान जिल्लाबाटै सम्पन्न गरिसकेको छ । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग लिइएको उनले बताए ।
हाल पीडित र आरोपित पक्षका मोबाइल लगायत विद्युतीय सामग्रीहरू फरेन्सिक परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । ती सामग्रीको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
बिहिबार, फाल्गुण २८, २०८२मा प्रकाशित गरिएको



