सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्ष नेपालमा कुनै नयाँ राजनीतिक प्रयोग नगर्न प्रस्ताव गरेका छन् । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०४७ सालयता भएका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गरिने बताएका छन् ।
कांग्रेसको जिम्मेवारी लिएर म बोल्दै छु । पाँच वर्ष काम गर्दा यदि कुनै पनि काण्डमा मेरो परिवारको मान्छे परे पनि कसैलाई जोगाइने छैन, थापाले भने । एउटा पनि काण्ड कांग्रेस सरकारले गर्यो भनेर जनताले सुन्नु नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो। त्यसैले पाँच वर्ष अर्को प्रयोग नगरौँ ।

उनले नेपालमा अपेक्षित सुधार हुन नसकेको र त्यसमा कांग्रेस स्वयंम पनि चुकेको स्वीकार गरे । माओवादी द्वन्द्वकालमा नक्कली शरणार्थी कागजात बनाएर विदेश गएर बसेकाहरू अहिले देश फर्किएर ठूलो–ठूलो सपना बाँडिरहेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे । पाँच वर्षमै चमत्कार गर्छु भन्नेहरू धेरै छन् । ठूलो हल्ला र कोलाहल छ, उनले भने, कम्तीमा कर्णालीले त्यस्ता कुरा नपत्याओस् । सत्य र तथ्य सामाजिक सञ्जालमै सीमित नरहोस् भन्ने मेरो चाहना हो ।
बिहिबार, फाल्गुण १४, २०८२मा प्रकाशित गरिएको



