सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ अन्तर्गत पर्ने काँक्रेबिहार जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । आज बिहान करिब ११ २० बजे घाँस काट्न गएको स्थानीयले दुवै जना रुखमा झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचनाप्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

घटनास्थलमा पुगेपछि गरिएको प्रारम्भिक पहिचानअनुसार मृतक युवती सुर्खेत वीरेन्द्रनगर १० खजुरा बस्ने १६ वर्षीया दिपिका चौधरी रहेको र युवक जुम्ला कनकासुन्दरी गाउँपालिका ७ का १८ वर्षीय छोरा नरेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनकाअनुसार दुवै जनाको पहिचान आफन्तहरूले नै खुलेका हुन् । घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार, मंसिर ०९, २०८२मा प्रकाशित गरिएको



