काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलले सुनुवाइका लागि पेसी तोकेको छ ।
गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश दिएपछि थप बहस भएको थियो ।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार आज उक्त मुद्दाको पेसी तोकिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गरी जमानत मागे पनि रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । त्यसपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीमाथि करिब १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकममध्ये आफ्नो हिस्साको एक चौथाइ अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित कागजात अदालतमा पेश गरेका छन् ।
बिहिबार, कार्तिक २८, २०८२मा प्रकाशित गरिएको



