सुर्खेत । मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । गाडीमा जुम्ला हिमा गाउँपालिका १ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् ।
बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका १ आर्चायमा मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेका क.प्र ०२००१ ख ११८० नम्वरको गाडीमा रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रवीनबाबु रेश्मीले जानकारी दिए ।
“मृतक युवक गाडीमा यात्रा गरिरहने व्यक्ति हुन् । बसिरहेको अवस्थामा उनको मृत्यु भइसकेको रहेछ, जुम्लास्थित घरमा ओर्लिने बेला मात्र उनको मृत्यु भएको थाहा भयो,” प्रहरी उपरीक्षक रेग्मीले भने, “घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।”
शव परीक्षणका लागि जिल्ला अस्पताल जुम्ला लगिएको छ ।
तस्विर : फाइल
बिहिबार, आश्विन २३, २०८२मा प्रकाशित गरिएको